काठमाडौ‌ं - त्रिवि शिक्षण अस्पताल टिचिङ का आवासीय चिकित्सकहरुले आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । आकस्मिक बाहेकका सेवा ठप्प भएपछि सयौं बिरामी अस्पताल परिसरभित्रै अलपत्र परेका छन् ।

१४ दिनदेखि जुम्लामा अनशनरत डा। गोविन्द केसीको माग सुनुवाई गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै उनीहरुले आकस्मिक बाहेकका सेवा बहिस्कार गरेका बताएका छन् ।

आवासीय चिकित्सकहरुको संस्था नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएशनका अध्यक्ष डा. सुमित पाण्डे र सचिव डा. विश्वराज तिमल्सिनाले विज्ञप्ति जारी गर्दै सरकार मौन बस्नुले आफूहरु स्तव्ध भएको भन्दै आन्दोलनको कार्यक्रम गर्नुपरेको बताएका छन्। एसोसिएसनमा ३ सयभन्दा बढी आवासीय चिकित्सक आबद्ध छन्।

हडतालबाट हुने असुविधा तथा क्षतिको जिम्मेवार सरकार आफैं रहने विज्ञप्तिमा उल्लेख छ । धेरै दिनदेखि धैर्य गरेर कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रम गर्दा सरकारले नसुनेपछि कठोर कदम चाल्न बाध्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।