एजेन्सी - ओमनको नयाँ सुल्तानमा हैथम बिन तारिक अल सइदलाई नियुक्त गरिएको छ ।

ओमानका सुल्तान काबुस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा निधन भएपछि तारिक अल सइद नयाँ सुल्तान बनेका हुन् । पूर्व संस्कृति मन्त्री समेत रहेका तारिक अल सइदलाई ओमनको नयाँ सुल्तानमा नियुक्त गरिएको अल जजिराले जनाएको हो ।

नवनियुक्त सुल्तान अल सइदले शनिबार सत्तासीन शाही पारिवारिक परिषदसामु पद तथा गोपनीयताको सपथ लिएको समेत समाचारमा जनाइएको छ । उनी शाही परिवारका वरिष्ठ सदस्य हुन् ।

ओमनको संविधान अनुसार राजगद्दी रिक्त भएको ३ दिनभित्र नै शाही परिवारले उत्तराधिकारीको रुपमा नयाँ सुल्तान चयन गर्नुपर्ने व्यवस्था छ । नयाँ सुल्तान शाही परिवारको सदस्य हुनुपर्ने र ओमनी मुस्लिम परिवारमा जन्मेका हुनुपर्ने व्यवस्था छ ।

ओमानका सुल्तान काबुस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा शनिबार निधन भएको थियो । उनी अरब जगतमा सबैभन्दा बढी समयसम्म सुल्तान रहेको बीबीसीले जनाएको छ । उनको कार्यकालमा ओमनले मध्यपूर्मा तटस्थताको नीति अंगिकार गर्दै आएको थियो । नयाँ सुल्तानले समेत काबुसको नीति नै अनुशरण गर्ने बताइएको छ ।

गत महिना काबुस बेल्जियममा आफ्नो उपचार गरेर कराकर फर्किएका थिए । उनलाई क्यान्सर भएको खबरहरु पनि प्रकाशित भएका थिए ।

सुल्तान काबुस १९७० मा बेलायतको समर्थनमा आफ्नो पितालाई गद्दीबाट हटाएर आफैं सुल्तान बनेका थिए । उनले ओमानको विकासका लागि तेलबाट हुने आम्दानीलाई उपयोग गरेका थिए । सुल्तान काबुन सन्तानविहीन थिए । आफ्नो निधन हुनुपूर्व उनले आफ्नो उत्तराधिकारी तोकेका थिएनन् ।