काठमाडौं - तीन महिनाभन्दा बढीको बन्दाबन्दी (लकडाउन)का कारण बन्द रहेको सार्वजनिक यातायात खुल्ने भनिएको समाचारमा कुनै सत्यता नभएको नेपाल यातायात केन्द्रिय महासंघ नेपालले बताएको छ ।

यातायात संचालनका विषयमा सरकार तथा सम्बन्धित निकायसँग छलफल भएको भएता पनि त्यस्तो कुनै निर्णय नभएको महासंघका महासचिव भरत नेपालले बताए । कोरोना भाइरस (कोभिड १९) का कारण हालसम्म अधिराज्यभरि नै सार्वजनिक यातायात सेवा संचालन नभइकन लकडाउनमा रहेको अवस्थामा केही संचार माध्यममा असार २१ गतेदेखि यातायात संचालन हुने भन्ने समाचार भ्रामक रहेको पनि महासचिव नेपालले बताए ।

उनले भने, उक्त भ्रामक समाचारले आम जनता तथा यातायात व्यवसायी मजदुरमा गलत सन्देश गएकाले यस्ता प्रकारका समाचार सामग्री प्रकाशन, प्रसारण र पोष्ट नगर्नुहोस् ।'

महामारीका कारण यातायात क्षेत्र ठूलो आर्थिक चपेटामा परेकाले यस व्यवसायमा भएको लगानी बैंक तथा वित्तीय संस्थाको करिब ७० प्रतिशत रकम लगानी भएकाले लामो समय महामारीका कारण व्यवसाय संचालन हुन नसकेको र सहज हुँदा पनि लामो समयसम्म व्यवसायिक रुपमा संचालन हुन नसक्ने परिस्थिति भएकाले यातायात व्यवसायीको लकडाउनदेखि र सहज सुचारु हँुदाको अवस्थादेखि कम्तीमा पनि  १ वर्ष सम्मको सम्पूर्ण व्याज मिनाहा र यसबीचको साँवा रकम बैंक ऋण लिएको भाका अवधि बढाई अन्तिममा चुक्ता गर्ने वातावरण मिलाउन सरकार समक्ष महासंघले आग्रह समेत गरेको छ ।