काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग उपसभामुख पदका लागि कटौरा थाप्नु मनासिव नहुने प्रतिक्रिया दिएका छन् 

सत्तारुढ नेकपाले सभामुख पदमा उम्मेदवारी दिन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएपछि दुवै पद खाली भएको थियो । सभामुखमा नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई उम्मेदवारी दिएपछि उपसभामुख आफूलाई दिनुपर्ने काँग्रेसको माग छ ।

सभामुखमा सापकोटाको एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएका छन् । उपसभामुख कसलाई दिने भन्ने विषयमा भने सत्तारुढ दलभित्र निर्णय भइसकेको छैन ।

यसैबीच काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार नेकपा अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)सँगको भेटमा उपसभामुख काँग्रेसलाई दिन प्रस्ताव समेत गरेका थिए । पौडेलको प्रस्तावमा अध्यक्ष प्रचण्ड सकारात्मक रहेको बताइएको थियो ।

सो समाचार सार्वजनिक भएपछि नेता गुरूङले ट्वीट गर्दै उपसभामुख पदका लागि कटौरा थाप्नु मनासिव नलागेको बताएका हुन् । 

‘संविधान बमोजिम सभामुख/उपसभामुख फरक दल तथा फरक लिङ्गको हुनुपर्छ’, नेता गुरूङले लेखेका छन्, ‘सभामुख/उपसभामुख सत्तापक्ष र प्रतिपक्षको हुँदैन भन्ने मान्यता पनि छ । तर यतिखेर उपसभामुख पदका लागि कटौरा थाप्नु मनासिव हो जस्तो लाग्दैन। शिर्ष नेतृत्वको जो मर्जी !’