काठमाडौं - लक्ष्मी बैंकको अध्यक्षमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल  नियुक्त भएका छन् ।

भदौ १७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

नेपाललाई बुधबारदेखि नै लागू हुने गरी बैंकको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ । नवनियुक्त अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका गभर्नरसँग सपथग्रहण लिएका छन् ।

नागरिक लगानी कोष लक्ष्मी बैंकको प्रवर्धक शेयरधनी हो । कोषको लक्ष्मी बैंकमा करिब १५ प्रतिशत शेयर लगानी रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट ३० वर्षे सेवापछि कार्यकारी  निर्देशक पदबाट अवकाश पाएका नेपालसँग बैंक अन्तर्गतको नियमन, सुपरीवेक्षण, विनिमय विभागका साथै बैंकका क्षेत्रीय कार्यालयहरुमा समेत काम गरेको अनुभव छ ।