काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि दोहोर्‍याए ।

उनले भने, ‘हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थालाई पनि यसले यसै अवधिमा मूल धारमा फर्काउन सफल भएको छ । जो अझै बाटो भुलिरहेका छन्, उनीहरुलाई पनि मूल धारमा आउन ढिला नगर्न मेरो आग्रह छ ।’

प्रधानमन्त्री ओलीले सम्बोधनमा आफ्नो कार्यकालको हालसम्मको अवधिमा भएका आर्थिक विकास र उपलब्धिका बारेमा पनि विस्तृतमा उल्लेख गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित उक्त समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । 

यसैगरी विकास निर्माण र नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित झाँकी पनि प्रदर्शन गरिएको थियो । समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो ।