काठमाडौं - कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ  ।

बिहिबार राति भएको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७-० गोलको लज्जास्पद हार व्यहोरेको हो ।

जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा कुवेतलाई जित दिलाउन युसेफ नासिरले दुई गोल गरे । यस्तै अब्दुल्लाह अल्मुतारी र फहाद अल्हाजेरी, बदेर अल अल्मुट्वा, रिधा अबुजा बरा र हुसेन अल मोसाविले एक एक गोल गरे ।

बलियो टिम कुवेतविरुद्ध पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको थियो ।

कुवेतसँगको हारसँगै समूह 'बी'को नेपालले विश्वकप छनोटमा खराब सुरुवात गरेको छ । कुवेतले भने पहिलो खेलमा ३ अंक जोडेको छ ।

यस समूहमा जोर्डनले पनि विजयी सुरुवात गरेको छ । जोर्डनले चाईनिज ताईपेलाई २-१ गोल अन्तरले पराजित गरेको छ । अब नेपालले भदौ २४ गते ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।