रुकुम पश्चिम - प्रहरीले गाउँपालिकाको सरकारी खातामा भएको पैसा ब्यक्तिको खातामा राखेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । सरकारी पैसा व्यक्तिको खातामा राख्ने रुकुम पश्चिमस्थित त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी सहित चार जना पक्राउ परेका हुन् ।

गाउँपालिकाको पैसा व्यक्तिगत खातामा राखेको खुल्न आएपछि लेखापाल केसीसहित उनका भाइ विकास भतिजा सुवास केसी, र अर्का भतिजा भीमसेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी ठकबहादुर केसीले मध्यान्हलाई जानकारी दिए । उनका अनुसार उनीहरु राति ९ बजेसम्म बाहिरबाट ताला लगाई कार्यालयमै कागजात मिलाउँदै गरेको भन्ने खबर प्राप्त भएपछि तत्कालै खटीएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

प्रमुख जिल्ला अधिकारीको निर्देशनमा उनीहरुलाई नियन्त्रणपछि प्रशासनको जिम्मा लगाइएको डिएसपी केसीले बताए । उनीहरुलाई अहिले जिल्ला प्रशासन कार्यालयले छानविन कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार कर्मचारी सहित उका परिवारका सदस्य पनि कार्यालयमा भेटिएको हुँदा घटना रहस्यमय बनेको र उनिहरुलाई प्रशासन कार्यालयले थप अनुसन्धान अगाडी बढाएको छ ।

लेखापाल केसीले गत आर्थिक वर्ष २०७६/७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेका थिए ।