एजेन्सी - अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नी वरपरका क्षेत्रमा एक हप्तादेखि डढेलो लागेको छ ।

डढेलोका कारण सिड्नी बाक्लो धुवाँले ढाकिएको छ । रातभरी चलेको वायुले शहरको उत्तरतर्फबाट धुवाँ ल्याएपछि सिड्नी धुवाँले ढाकिएको हो ।

सिड्नीमा वायु प्रदुषणको मात्रा खराब स्तरमा पुगेको अधिकारीहरूले बताएका छन्। शहरका केही भागहरूको वायुको गुणस्तर अस्ट्रेलियाले तोकेको न्यूनतमभन्दा आठ गुणासम्म धेरै भएको मापन गरिएको छ।

न्यू साउथ वेल्सको राजधानी सिड्नीमा करिब ५० लाख मानिसहरू बस्छन्। न्यू साउथ वेल्सको उत्तरी क्षेत्रमा हप्तौं देखि फैलिएको डढेलोका कारण ६ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै सिड्नीको तापक्रम पनि निकै बढेको छ । अधिकारीहरुले मङ्गलवार त्यहाँको तापक्रम ३७ डिग्री सेल्सियससम्म पुग्न सक्ने बताएका छन् ।स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई घरभित्रै बस्न र बाहिर निस्केर शारीरिक रूपमा बल पर्ने कामहरू नगर्न सुझाव दिएको छ।

श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसहरूले थप सचेत हुन समेत अधिकारीहरुले आग्रह गरेका छन् ।गत हप्ता वरपरका भागहरूमा डढेलो फैलिएपछि सिड्नीमा यसअघि नदेखिएको खतरा देखिएको हो।

सिड्नीको उत्तरतर्फका भागहरूमा झन्डै ५० स्थानमा डढेलो फैलिएको छ । डढेलो फैलिएपछि वरपरका बासिन्दाहरूले हप्तौँदेखि बाक्लो धुवाँ र खराव वायु प्रदूषणमाझ बस्न बाध्य छन् ।