काठमाडौं - १३ औँ दक्षिण एसियाली खेलकुद (साग) लक्षित निर्माण गरिएको पोखरा फुटबल मैदानको ग्यालरी ‘सी’ अन्तर्गतको विशिष्ट श्रेणीसहितको प्यारापिटमा सिट जडान गरिएको छ ।

पोखरा रंगशाला फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुने भएपछि यतिबेला फुटबल मैदानको काम समेत धमाधम भइरहेको छ । पोखरामा मुख्य खेलको रुपमा समेत हेरिएको महिला फुटबलको लागि निर्माणाधिन फुटबल मैदानमा प्रतियोगिताको लागि तत्काल पूर्व र पश्चिम भागमा प्यारापिट जडान गरिने छ ।

मैदानको लागि दुबो भारतको कोलकत्ताबाट ल्याइएको हो भने प्यारापिटका लागि स्टिल मोडुलर ग्राण्ड स्ट्यान्डका सामान भने फ्रान्सबाट ल्याइएको हो । उक्त प्यारापिट जडानको लागि फ्रान्सबाट दुई जना प्राविधिक समेत पोखरा आएका छन् । ९ वटा माल बाहक ट्रक भारतको बन्दरगाहबाट सामान लिएर आजै मात्र ९८ मंसिर० पोखरा आइपुगेका छन् । ती सामानले पूर्वतर्फको प्यारापिट जडानको काम हुने छ ।

पोखरा रंगशालामा नवनिर्मित प्यारापिटमा जडित सिटहरु रातो र निलो रंगको रहेको छ । ती सिटहरु नेपालको झण्डा संग मिल्ने गरी राखिएको हो । मैदानको काम लगभग अन्तिम अवस्थामा रहेको र करिव १० हजार दर्शक क्षमताको सिट जडान गरिने प्रोजेक्ट म्यानेजर बरालले जानकारी दिए ।

सागअन्तरर्गत महिला फुटबल प्रतियोगिता पोखरा रंगशाला फुटबल मैदानमा हुने छ भने अभ्यास स्थलको लागि दोबिल्लामा रहेको सहारा एकेडेमीको खेल मैदान, हेम्जामा रहेको गौरीशंकर खेल मैदान, प्रहरी गण तालिम केन्द्र र पश्चिम पृतना विजयपुरको खेल मैदान तोकिएका छन् ।

महिला फुटबल मंसिर १७ गते देखि २४ गते सम्म हुने छ । प्रतियोगितामा ४ राष्ट्रको सहभागीता रहेको छ । आयोजक नेपाल सहित भारत, माल्दिब्स र श्रीलंकाले खेलमा सहभागीता जनाएका छन् भने बंगलादेश, भुटान र पाकिस्तानले भने सहभागीता जनाएको छैन ।

यसैगरी ट्रयाक एण्ड फिल्डको लागि अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघका प्राविधिक टोलीहरु पोखरा आइपुग्ने प्रोजेक्ट म्यानेजर बरालले बताए । उनले भने ‘ट्रयाक मार्किङ गर्न टोली आउँदैछ ४ दिनमा हामी ट्रयाक मार्किङको काम सक्दैछौं ।’