काठमाडौं - सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं ल्याइएको छ ।

शुक्रबार बिहान म्यानमार सेनाको एयरफोर्सले उनीहरुलाई लिएर त्रिभुवन विमास्थलमा अवतरण गरेको स्रोतले बताए ।

कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिँदैछ ।

विमानस्थलमा ओर्लिने वित्तिकै उनीहरुको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण प्रमाण पत्रको जाँच गरिनेछ । सीसीएमसी स्रोतका अनुसार म्यानमारबाट आउने २६ जनाकै कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ छ । त्यसैले उनीहरुलाई नेपाली सेनाले होल्डिङ सेन्टरसम्म लगेर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउनेछ । सेन्टरमा उनीहरुको थप व्यक्तिगत विवरण पनि संलकन गरिनेछ ।