काठमाडौं - गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुरमा भव्यताका साथ आज विजयोत्सव मनाइँदैछ ।

वीर गोर्खालीले सो सेनालाई पराजित मात्र गरेन् ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोपहरु नियन्त्रणमा लिन सफलता प्राप्त गरेको जनाइएको छ । इतिहासकारका अनुसार गोर्खाली सेनाले एकैदिन मुगलको १७ सय सेनालाई पराजित गरिदिएको थियो । गोर्खाली सेनाले ऐतिहासिक विजय प्राप्त गरेको २५७ वर्ष पुगेको छ । गोर्खाली सेनाले विदेशी सेनासित लडेको पहिलो युद्धका रुपमा लिइन्छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले विजयोत्सव कार्यक्रम भव्य रुपमा मनाउन लागिएको जानकारी दिए ।

पहिलो विजयोत्सव मनाउन तत्कालीन राजा पृथ्वीनारायण शाह स्वयम् गढीमा उपस्थित हुनुभएको बताइएको छ । सोही समयदेखि विजयोत्सव मनाउन थालिएको भए पनि व्यवस्थित र भव्य कार्यक्रम गरेर मनाउन थालेको केहि वर्ष मात्रै भएको गढी संरक्षण र व्यवस्थापनमा सक्रिय बद्री खतिवडाले जानकारी दिए ।

गढी र तिनको ऐतिहासिकताको अध्ययन गर्नुभएका केदार न्यौपानेका अनुसार देशभरीका २०० गढीमध्ये मकवानपुर गढीको इतिहास लामो र महत्पूर्ण रहेको बताए । उनले पाल्पाका राजा मणिमुकुन्द सेनले नै आफूलाई मकवानी राजाको सन्तान भएको दाबी गरेकाले मकवानपुर पुरानो राज्य भएको र पछि राजधानीलाई पाल्पामा सारेको हुनसक्ने बताए ।

तत्कालीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले सेनवंशको चिनारी नामक पुस्तकमा पाल्पाका सेनहरु मकवानपुरकै भएको उल्लेख गरेका छन् । मुकुन्द सेनले राज्य बाँडफाँड गर्दा मकवानपुर कान्छा छोरा लोहाङ सेनको भागमा पर्यो । लोहाङले विसं १६१० पछि गढीको पुनःनिर्माण गरी मकवानपुर राज्यको पुनःनिर्माण र विस्तार गरेका बताइएको छ ।

प्राध्यापक दिनेशराज पन्तले मकवानपुर गढीको बारेमा लेखेको एक लेखका अनुसार विसं १७९४ मा गोरखाका युवराज पृथ्वीनारायण शाहको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसंँग भएको थियो ।

हेमकर्ण सेनका छोरा दिग्बन्धन सेनसँग पृथ्वीनारायणको सम्बन्ध राम्रो थिएन । हेमकर्ण सेनले कन्यादानको समयमा छोरीलाई गजमोतीको हार लगाइदिएका थिए र दुलाहा दुलहीलाई एकदन्ता हात्तीमा चढाएका थिए । पृथ्वीनारायणले ती हार र हात्ती माग गर्दा दिग्बन्धन सेनसँग झगडा पर्यो र पृथ्वीनारायण बेहुली नै नलिइ फर्केका लेखमा रहेको छ ।