तम्घास - गुल्मीमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका वडा नं १ हस्तिचौरको मल्दीमा पहिरोले गोठ बगाउँदा गोठमा सुतिरहेको बसन्त सारुका १८ महिने बालक सिजन सारु र सोही स्थानकी इश्वरी खत्रीकी ७ वर्षीय छोरी अपेक्षा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए ।

पहिरोमा परी घाइते भएका चार जनामध्ये अपेक्षाकी आमा २७ वर्षीय इश्वरी खत्री र १८ महिने बालककी आमा सृजना सारुको अवस्था गन्भीर रहेको छ भने अन्दाजी ६० वर्षीय टीका खत्री र ५५ वर्षकी पुतला खत्री सामान्य घाइते भएका छन् ।

यस्तै, मुसिकोट नगरपालिका वडा नं २ को हाँडीखोलामा हरिप्रसाद घिमिरेको घुम्तिपसल पहिरोले बगाउँदा अन्दाजी ६५ वर्षीय भागीरथ घिमिरे बेपत्ता भएको र बेपत्ता भएकाको खोजी कार्य जारी रहेको पन्थले जानकारी दिए ।

यस्तै, मुसिकोट नगरपालिका वडा नं २ राताचौरका जनक जोशीको घर र कुमानसिंह खत्रीको घर पहिरोले भत्किएकाले सुरक्षित स्थानमा सारिएको छ ।