एजेन्सी - कोरोनाभाइरसको महामारी सुरु भएको छ महिनापछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खराब अवस्था आउन अझै बाँकी रहेको चेतावनी दिंदै सुरक्षामा सम्झौता नगर्न विश्वभरका सरकार र नागरिकहरुलाई खबरदारी गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले डा. सोमबार भिडियो सन्देश जारी गर्दै त्यस्तो चेतावनी दिएका हुन् । भिडिओमा उनले भनेका छन्-हामी सबैले यो अन्त्य होस् भन्ने चाहन्छौँ। हामी सबै आफ्नो नियमित जीवनमा फर्किन चाहन्छौँ । तर अप्रिय वास्तविकता के हो भने हामी यो अन्त्य हुने अवस्था नजिक पनि पुगेका छैनौँ । साथै, उनले हो परीक्षण, पहिचान, आइसोलेशन र क्वारन्टीनलाई थप प्रभावकारी बनाउन विश्वभरका सरकारहरुसंग अनुरोध पनि गरेका छन् ।

चीनमा गत वर्ष भाइरस देखा परेयता विश्वभरि एक करोडभन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएको छ । त्यसबाट ज्यान गुमाउने बिरामीको सङ्ख्या पाँच लाख नाघेको छ । विश्वभरि सङ्क्रमित कुल मानिसको आधा संख्या अमेरिका र युरोपमा छ । अमेरिकी देशहरूमा सक्रमण बढ्दो देखिन्छ ।

कोरोनाभाइरसले नेपाल सहित दक्षिण एशिया र अफ्रिकालाई पनि प्रभावित तुल्याइरहेको छ, जहाँ जुलाई महिनामा संक्रमण उच्च विन्दुमा पुग्ने अनुमान गरिएको छ । उनले जर्मनी, दक्षिण कोरिया र जापानको उदाहरण दिँदै उनीहरूले चालेका कदम पछ्याउन अन्य सरकारहरूलाई आग्रह गरे । ती देशहरूले व्यापक रूपमा परीक्षण र संक्रमितको पहिचान जस्ता उपाय अपनाएर प्रकोपलाई नियन्त्रणमा राखेका छन् ।