काठमाडौं - नेपालमा थप २ जनाको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएको स्वास्थ् तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृत्यु हुनेमा डोल्पा जिल्लाका जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुष रहेका छन् । यस्तै, कैलाली धनगढी-४ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । 

डोल्पाका मृतक व्यक्ति जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए । ती व्यक्तिको २१ गते मृत्यु भएको हो । मृत्युपश्चात् २२ गते ती व्यक्तिको संकलन गरिएको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको हो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए ।

यस्तै, धनगढीकी महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मिर्गौलाकी बिरामी उनको शुक्रबार डायलाइसिसका क्रममा मृत्यु भएको हो । मृत्युपछि उनमा कोरोना संक्रमणको आशंकामा पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको हो । यो सहित नेपालमा कोरोना संक्रमण देखिएका १३ जनाको मृत्यु भएको छ।

हालसम्म नेपालमा ३६५ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । जसमा २९९ जना पुरुष र ६६ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् ।