काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक आज पनि बस्दैछ । केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बिहान ११ बजे बस्ने जनाइएको छ ।

आइतबार बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट प्रस्तुत कार्यसूची आएपछि बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेछन् । यसअघि आइतबार एक वर्षपछि बसेको बैठकले पाँचवटा कार्यसूची पारित गर्दै ती विषयमा निरन्तर छलफल गर्ने निर्णय गरेको थियो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै अर्को बैठकमा उनी उपस्थित हुने अपेक्षा समेत गरेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर राजनीतिक प्रतिवेदन पेस गर्ने, नेपाल–भारत सीमाबारे छलफल गर्ने, केन्द्रीय कमिटी बैठक बोलाउने, विधान संशोधन गर्ने र विविध गरी पाँचवटा कार्यसूची पारित गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा सरकारका गतिविधिबारे सामान्य छलफल भएको थियो । बैठकमा नेता भीम रावलले बैठक ढिलो बसेको भन्दै नेतृत्वले आत्मालोचना गर्नुपर्ने माग गरेका थिए ।