काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सत्तारुढ नेकपाले उपसभामुख दिए स्वीकार गर्ने बताएका छन् ।

मंगलबार बिहान सत्तारुढ नेकपाका सभामुख उम्मेदवार अग्नि सापकोटाको उम्मेदवारीमा राजपा नेता लक्ष्मणलाल कर्ण समर्थक बसेपछि राजपाले उपसभामुख पाउने चर्चा चलिरहेको बेला महतोले यस्तो प्रतिक्रिया दिएका हुन् ।

स्रोतका अनुसार प्रतिपक्ष नेपाली कांग्रेस र हालै सरकारबाट बाहिएको समाजवादी पार्टी नेपाललाई भन्दा राजपालाई उपसभामुख दिने नेकपाको तयारी रहेको छ । राजपा अध्यक्ष महतोले पनि उसभामुख संवैधानिक पद भएकाले जिम्मेवारी आएको खण्डमा सम्हाल्ने स्पष्ट पारे । यद्यपि, सरकारी पक्षसँग यसबारे ठोस सहमति भने नभएको संयोजक महतोले जानकारी दिए ।

‘सभामुख सबैको साझा व्यक्ति भएकाले अग्नीजीको उम्मेदवारी दर्तामा लक्ष्मणलाल कर्ण जानुभएको हो,’ नेता महतोले भने, ‘उपसभामुख हामीलाई दिने सहमति भएर गएको होइन । यसबारे सहमति पनि भएको छैन । यदि हामीलाई दिए भने हामी जिम्मेवारी र दायित्व निभाउन तयार छौ ।’

राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ का चार सिटका लागि नेकपासँग गठबन्धन गरेको राजपाले उपसभामुख पाउने चर्चा भएसँगै चन्दा चौधरी र अमृता अग्रहरीले नेताहरुसँग लविङ थालेका छन् । चौधरी राजपा नेता महन्थ ठाकुरसँग निकटस्ठ छिन् भने अग्रहरी भने राजेन्द्र महतोसँग निकटस्ठ छिन् ।