काठमाडौं - इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पछिल्लो केही महिनायता लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको प्रकोपको बढ्दै गएको भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ ।

महाशाखा र विश्व स्वास्थ्य संगठनले बिहीबार राजधानीमा संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै घर वरपर पानी जम्न नदिन, सरसफाइमा ध्यान पुर्‍याउन र शरीर पूरै ढाक्ने लुगा लगाएर बस्न आग्रह गरेका छन् ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा। बीएन नागपलले सवारी–साधनको टायर, अस्पताल, सरकारी कार्यालयहरुसमेत डेंगीको बढी जोखिममा रहेको बताए ।

डेंगी रोग नियन्त्रण गराउन स्वास्थ्य मन्त्रालयसँगै अन्य मन्त्रालयहरुसमेत लाग्नुपर्ने भन्दै डा। नागपालले ७० प्रतिशत मानिसमा डेंगीको लक्षण नै देखा नपर्ने हुँदा व्यक्ति आफैं पनि सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेककुमार लालले डेंगी रोग नियन्त्रण गर्न कुनै ‘भ्याक्सिन’ र औषधिसमेत नभएको बताए ।

डेंगी लागेको व्यक्तिको शरीरमा पानीको मात्रा कम हुने हुँदा झोलिलो खानेकुरा बढी खाने र ‘प्यारासिटामोल’मात्र खाइ आराम गर्नुपर्ने उनले बताए ।

धरानबाट फैलिएको डेंगी हाल ५६ ओटा जिल्लामा देखिएको छ । डेंगीका कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको छ । ८ हजारभन्दा बढी मानिस प्रभावित भइसकेका छन् ।