बुटवल - प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी विषयमा कसैले दम्भ देखाउन आवश्यक नभएको बताएका छन् ।

प्रेस संगठन नेपाल, प्रदेश पाँचको प्रथम भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै भने, ‘मैले दाङ राजधानी हुनुपर्छ भनेर चुनाव लडे । पार्टी महासचिव विष्णु पौडेल पनि बुटवल राजधानी बनाउछु भनेर चुनाव लडनुभो । अब मेरो पनि कुनै निजी विचार छैन ।’

उनले थपे, ‘सहमतिकै आधारमा प्रदेशको राजधानी र नामाकरण टुंगो लगाउँछौं । पूर्व लुम्बिनी, राप्ती र भेरीको मनोविज्ञान त्यागेर साझा मनोविज्ञान बनाउन आवश्यक छ ।’

राजधानीको विषयले जोड्ने भएको भन्दै विभाजित गर्ने नभएको मुख्यमन्त्री पोखरेलको भनाई थियो । प्रदेशको चलिरहेको हिउँदे अधिवेशनमा यो विषयले टुङगो लाग्ने तयारी छ ।

फरक प्रसंगमा उनले कलमको माध्यामबाट समाज रुपान्तरणमा लागेका पत्रकारहरुले गम्भीर समीक्षा बिना समाचार लेख्न नहुने बताए । प्रेस संगठनमा आवद्ध पत्रकारहरु वर्तमान र भविष्यलाई जोड दिएर अगाडि बढन आवश्यक रहेको मुख्यमन्त्री पोखरेलले औंलाए ।

केन्द्रका ‘विग मिडिया हाउस’को एजेण्डलाई मोफसलका पत्रकारहरुले बोक्नुपर्ने अवस्थाले गर्दा सरकारले गरेको राम्रा कामको पनि चर्चा हुन नसकेको उनले बताए ।