काठमाडौं  - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब ४ घण्टासम्म बसेको सचिवालय बैठकपछि ओली र प्रचण्ड शितलनिवास गएको स्रोतले बताएको छ । पार्टी एकता कायम राख्दै सहमति खोज्ने निष्कर्ष निकालिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल समूहले केपी ओलीको राजीनामा मागेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री ओलीले भने तत्काल दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याउँदै आएका छन् । दुवै पक्षको अडानकै कारण लामो समयदेखि नेकपा विवादको निष्कर्ष निस्कन सकेको छैन ।