काठमाडौं - नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले चौधौं महाधिवेशनको प्रक्रिया शुरू भएपछि पनि पार्टीका विभिन्न विभागमा मनोनयन गरेको भन्दै नमान्ने चेतावनी दिएका छन् ।

आज वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले सभापति देउवालाई बोधार्थसहित निर्वाचन समितिलाई संयुक्त ध्यानाकर्षण पत्र लेख्दै विधान र निर्वाचन आचारसंहिता उल्लंघन भएकाले उक्त निर्णय नमान्ने चेतावनी दिएका हुन् ।

उनीहरुले निर्वाचनको सामान्य मान्यता र आचारसंहिता विपरीत भइरहेका नियुक्ति आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशय समेतबाट प्रेरित रहेकाले तत्काल नियुक्तिको काम रोक्न र बदर गर्न ध्यानाकर्षण गराएका छन् । विज्ञप्तिमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका दोहोर्‍याएर समेत सार्वजनिक भई महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको अवस्थामा विभागहरु गठन विधान विपरित भएको दावी गरिएको छ ।

तीन नेताले आसन्न महाधिवेशनको स्वच्छता एवं निष्पक्षतालाई ध्यानमा राख्दै विधान र निर्वाचन आचारसंहिता विपरीतका मनोनयन र नियुक्तिलाई स्वीकार नगर्न समेत पार्टीका नेताहरुलाई आब्हान गरेका छन् ।