मोरङ - अपहरणको नाटक गरेर आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा बुढीगंगा गाउँपालिका-३, बाँसबारी, मोरङ बस्ने २४ वर्षीय मुकेश कुमार महतो पक्राउ परेका छन्। उनलाई प्रहरीले सुनसरीको भन्टाबारीबाट पक्राउ गरेको हो।

गत शुक्रबार घरबाट निस्केका मुकेश कुमारले आफ्नो मोबाइलबाट बाबुलाई फोन गरी आफू अपहरणमा परेको, अपहरणकारीले ३० लाख रूपैयाँ फिरौती मागेको र प्रहरीलाई खबर गरे ज्यान मार्ने धम्की दिएको सूचना दिएका थिए।

उनले शुक्रबार र शनिबार अपहरणकारीले आफूलाई लाहानमा आइतबार धनुषाको जनकपुरमा र सोमबार कोशी ब्यारेजको बोर्डर छेउमा राखेको बताएका थिए। सोमबार उनका बाबुले २१ लाख रुपैयाँ फिरौतीको रकम दिएका थिए। 

फिरौतीपछि प्रहरीले अनुसन्धान गर्दै तत्काल उनकै मुन्सी काम गर्ने बुढीगंगा गाउँपालिका-३ बासबारी बस्ने २५ वर्षीय कृष्ण राजबंशीलाई फिरौतीको रकम सहित पक्राउ गरेको थियो।

मुकेशले आफूले १ वर्ष अगाडि ५ लाख रूपैयाँ सापट लिँदा मिटर ब्याजका कारण परिवारले ९६ लाख तिर्नु परेको, अरू ५० लाखको समेत कागज गरेको र नतिरेमा ज्यान मार्ने धम्की दिएकोले घर परिवारबाट पैसा माग्न लाज लागेर अपहरणको नाटक गरेको खुल्न आएको मोरङ प्रहरीले जानकारी दिएको छ।