काठमाडौं -  इन्डियन प्रिमियर लिग (आइपिएल)मा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन् ।

युएईमा जारी आइपिएलमा हैदराबाद र बैंग्लोर आफ्नो पहिलो खेल खेल्न मैदानमा उत्रन लागेका हुन् । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि सुरु हुनेछ ।

हैदराबाद डेभिड वार्नरको कप्तानीमा मैदान उत्रनेछ भने बैंगलोर विराट कोहोलीको नेतृत्वमा खेल्नेछ । दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

सन् २०१६ मा हैदरबादले बैंगलोरलाई हराउँदै आईपीएलको उपाधि जितेको थियो । त्यसअघि सन् २००९ मा पनि हैदराबादले आईपीएलको उपाधि जितेको थियो । सन् २०१६ बाहेक सन् २०११ र २००९ मा बैंगलोरले आईपीएलको फाइनल खेलेको थियो । तर, दुवै फाइनलमा बैंगलोरले पराजय भोगेको थियो ।

यी दुई टोलीबीच आइपिएलमा कुल १५ खेल भएका छन् । जसमा हैदराबादले ८ खेलमा जित हात पारेको छ भने बैंगलोर ६ खेलमा विजयी भएको छ । एक खेलको नतिजा विहिन सकिएको थियो । अघिल्लो संकरणमा दुई टिमबीच दुई भेट भएको थियो । जसमा दुवै टिमले एक(एक जित निकालेका थिए ।