एजेन्सी - रोबर्ट लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा जर्मन क्लब बायर्न म्युनिख फराकिलो जितका साथ च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा बायर्नले प्रिमियर लिग क्लब चेल्सीलाई ४–१ ले हराएको हो । बायर्न समग्रमा ७–१ को नतिजासहित अन्तिम ८ मा प्रवेश गरेको हो ।

 पहिलो लेगको खेलमा घरेलु टोली चेल्सीमाथि बायर्नले ३–० को जित निकालेको थियो ।

दोस्रो लेगको खेलमा बायर्नको घरेलु मैदान एलिनाज एरिनामा भएको खेलमा दशौं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी गोलमार्फत बायर्नलाई अग्रता दिलाएका थिए ।

इभान पेरिसिकले २४ औं मिनेटमा बायर्नको अग्रतालाई दोब्बर बनाए । चेल्सीका टोमी अब्राहमले ४४ औं मिनेटमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । दोस्रो हाफमा बायर्नले थप दुई गोल गर्यो । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका कोरेन्टिन टोलिसोले ७६ औं मिनेटमा घरेलु टोलीका लागि तेस्रो गोल गरे ।

लेवानडोस्कीले ८३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई शानदार जित दिलाए । बायर्नले सेमिफाईनल प्रवेशका लागि पोर्चुगलको लिस्वोनमा बार्सिलोनासंग प्रतिस्पर्धा गर्नेछ ।