काठमाडौं - प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारुढ नेकपा र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच विहान करिब ११ बजेदेखि वार्ता शुरु भएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका विषयमा वार्ता केन्द्रित रहेको वताइएको छ । वार्तामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र नेकपा नेता खिमलाल देवकोटा तथा प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू रमेश लेखक, र मिनेन्द्र रिजाल सहभागी छन् ।

वार्तामा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्नेबारे छलफल भइरहेको बताइएको छ ।

यी दुई आयोग गत चैत्तदेखि पदाधिकारी बिहीन छन् । संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन गठित सरकारले गत चैतमा पूर्व प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

समितिले मंसिर पहिलो साता दरखास्त आहृवान गरेका ६१ उम्मेदवारको सूची सार्वजनिक गरेको थियो । तर, राजनीतिक तहमा सहमति हुन नसक्दा समितिले नाम सिफारिस गर्न सकेको छैन । यसअघि प्रचण्ड र देउवाबीच छलफल भएपनि सहमती हुन सकेको छैन ।

उता, सभामुख चयनको विषयलाई लिएर नेकपाको नेतृत्वबीच आज पनि अलग्गै वार्ता हुने भएको छ । स्रोतका अनुसार नेपाली कांग्रेससंगको वार्ता सकिए लगत्तै पहिले ओली र प्रचण्डबीच तथा त्यसपछि महासचिव विष्णु पौडेल सहितका दोस्रो तहका नेताहरुलाई सहभागि गराएर वैठक गर्ने तयारी गरिएको छ । ओली र प्रचण्डबीच भएको हिजोको वैठकमा दुवै अध्यक्ष लचिलो भएकोले आजको वैठक निर्णायक हुने विश्वांस नेताहरुले व्यक्त गरेका छन् ।