काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले संविधान संशोधनको आवश्यकता भए पनि राष्ट्रिय सहमतिविना सम्भव नभएको बताएका छन् ।

राजधानीमा बिहीबार भएको साक्षत्कारमा उनले अहिलेको संविधानमा धेरै परिमार्जन गर्नुपर्ने विषय भए पनि राष्ट्रिय सहमति नबन्दासम्म सम्भव नभएको बताए ।

उनले संविधान सम्झौताको दस्तावेज भएको उल्लेख गर्दै राष्ट्रिय सहमति जुटेको खण्डमा संशोधन गर्न सकिने तर सहमति नभए संशोधन नै गर्न नसकिने बताए ।

संविधान संशोधनका लागि नेकपा सचिवालयले कार्यदल नै गठन गरेको थियो । तर पार्टीभित्र र बाहिरबाट यसको विरोध भए पनि भंग गरिएको छ । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संशोधन गर्न खोजिएको भन्दै विरोध भएको थियो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्याजेन्ज कर्पोरेशन ९एमसीसी० का विषयमा कार्यदलको सुझावअनुसारै सचिवालयले निर्णय गर्ने उनले बताए ।

पार्टीको स्थायी समिति बैठक र केन्द्रीय समिति बैठकमा उठेका कुराहरू समेटेर कार्यदलले अध्ययन गरेको र सुझाव पेस भएको उनले बताए । राष्ट्रिय हितअनुकूल बनाएर एमसीसी सम्झौता सचिवालयबाट पारित हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

एमसीसीका विषयमा नेकपाभित्र र बाहिर विवाद बढ्दै गएपछि अध्ययनका लागि कार्यदल बनेको थियो । अध्ययन कार्यदलले आफ्नो सुझावसहितको प्रतिवेदन पेस गरिसकेको छ ।

अब नेकपा सचिवालयले निर्णय गरेपछि संसदबाट पारित गर्ने÷नगर्ने विषय टुंगो लाग्नेछ । एमसीसीमा रहेका कतिपय बुँदाहरू राष्ट्रिय हितविपरीत भएको भन्दै विरोध हुँदै आएको छ ।