काठमाडौं - शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेता सलमान खान स्टारर फिल्म ‘दबंग ३’ रिलिजको पहिलो दिनदेखि नै बक्सअफिसमा छाएको छ । फिल्मको दोस्रो दिनको कमाई पनि सार्वजनिक भएको छ ।

पहिलो दिनको तुलनामा फिल्मले दोस्रो दिन २५ लाख बढी कमाई गरेको छ । पहिलो दिन फिल्मले २४ करोड ५० लाख संकलन गरेको थियो । दोस्रो दिन २४ करोड ७५ लाख कमाई गर्न सफल बनेको छ ।

यसरी हेर्दा दुई दिनमा ४९ करोड २५ लाख कमाउन सफल भएको ‘दबंग ३’ ले प्रदर्शनको पहिलो दिन ४० करोडभन्दा बढी कमाई गर्ने आंकलन गरिएको थियो । अहिले भारतका विभिन्न स्थानमा नागरिकता संशोधन एक्टको विरुद्धमा प्रदर्शन चलिरहेका कारण त्यसको असर फिल्मको व्यापारमा परेको बताइएको छ ।

दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया प्राप्त यो फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन् । फिल्ममा सलमान खान, सोनाक्षी सिन्हा किच्चा सुदीप, साई मान्जेकर लगायतको भूमिका रहेको छ ।