काठमाडौँ – साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको शृंखलाबद्ध रूपमा हत्या गरेका सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय सुनाएको छ । 

मेटाक्सासले अदालतमा ५ महिला र दुई बालिकाको हत्या गरेको स्वीकार गरेका छन् । अदालतले ७ जनाको हत्यामा कुल १५० वर्षको जेल सजाय हुने फैसला गरेको छ ।

मेटाक्सासले एक नेपाली, एक रोमानिया, तीन फिलिपिनो गरी ५ जना विदेशी महिला र दुई बालिकाको हत्या गरेका थिए । प्रहरीले ६८ दिन लामो अनुसन्धानपछि उनलाई अदालतमा पेस गरेको थियो । उनले महिलालाई परिबन्धमा पारी यौन सम्बन्ध राखेर हत्या गरेको बयान दिएका छन् ।

अदालतको फैसला आउनु एक साताअघि साइप्रस सरकारले पीडित परिवारको हकदारलाई १७ हजार युरोका दरले क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

मेटाक्सासबाट मारिएकी काठमाडौंकी ३० वर्षीय अस्मिता खडका विष्ट गत वर्षको जुलाई ९ बाट हराएकी थिइन् । खडका १८ जुलाई २०१७ मा घरेलु कामदारका रूपमा साइप्रस गएकी थिइन् । उनलाई अल ओभरसिज म्यानपावरले साइप्रसको सीआईजी एजेन्सी सर्भिसमा मासिक ३ सय ९ युरो तलब पाउने गरी पठाएको थियो । काम र सेवासुविधाको विषयमा म्यानपावरमा गुनासो आएको थिएन । उनका एक छोरा काठमाडौंमा हजुरआमासँग बस्दै आएका छन् ।

 कान्तिपुरबाट