काठमाडौं - डाक्टर गोविन्द केसी १८ औं सत्याग्रह बस्दैछन् । सीमा क्षेत्रका बासिन्दाको लागि सहज यातायात तथा गुणस्तरिय स्वास्थ्य शिक्षा र रोजगारीको माग गर्दै डा. केसी मंगलबार र बुधबार दार्चुलाको सदरमुकाम खलंगामा सत्याग्रहमा बस्न लागेका हुन् ।

एक विज्ञप्ति जारी गर्दै आफ्ना तीन बुँदे मागहरु सहित दार्चुलामा भोलि र पर्सी अनसन बस्ने जानकारी दिएका हुन् । उनको पहिलो माग दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुपर्ने गुणस्तरीय स्वास्थ्य शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ ।

यस्तै, भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने उनको माग छ । र गण्डकी प्रदेश लगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुतगतिमा अघि बढाउनुपर्ने, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।