काठमाडौं  - परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे छलफलका लागि भारतले चासो नदेखाएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा मन्त्री ज्ञवालीले सीमा विवादबारे छलफलका लागि पटकपटक आग्रह गर्दा पनि भारतीय पक्ष वार्तामा बस्न नमानेको बताएका हुन् ।

गत नोभेम्वर, डिसेम्बर र जनवरीमा तीन पटकसम्म पत्र पठाउँदा भारतीय पक्षले वार्तामा बस्न आनाकानी गरेको स्थायी समिति सदस्यसमेत रहेका मन्त्री ज्ञवालीको भनाई छ ।

आजको बैठकमा संस्कृति, पयर्टन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईका अनुसार बैठकमा अहिलेसम्म नेताहरु अमृत बोहारा, प्रदिप ज्ञवाली, लिलामणी पोखरेल, पम्फा भुषाल, बेदुराम भुषाल, घनश्याम भुषाल, मातृका यादव र रघुवीर महासेठलगायतका नेताहरुले धारणा राखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली विशेष कारण जनाउँदै बैठकमा अनुपस्थित भएपछि शीर्ष नेताहरुले सम्बोधन गर्ने बैठकको मोडालिटी सच्याएर स्थायी समिति सदस्यहरुलाई बोल्न दिइएको छ । उनको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक चलाइरहेका छन् । बैठक जारी छ ।