काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले ह्विप जारी गरेर भएपनि प्रतिनिधिसभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना पारित हुने बताएका छन् ।

रिपोर्टस क्लबमा भएको साक्षत्कार कार्यक्रममा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई अघि बढाउन चाहेकोले पनि यो पारित हुने बताएका हुन् । प्रतिपक्षी दल पनि पारित गर्नुपर्ने पक्षमा रहेको र प्रधानमन्त्रीको चाहाना पनि पारित हुनुपर्छ भन्ने भएपछि संसदमा ह्विप लागु गरेर पनि एमसीसी पारित हुने उनको भनाई थियो ।

उनले भने, ‘‘एमसिसी सदनबाट पास हुन्छ । प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ । प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ । त्यसैले पार्लियामेन्टरी सिष्टममा ह्विप लागुहुन्छ । प्रधानमन्त्रीले यसलाई अघि बढाउन चाहनुभएको छ । तर केही बुँदाहरु हेरफेर हुनुपर्छ ।’’

एमसीसी नेपालमा लागु भएपछि गरिबी निवारण हुन्छ भन्ने नभएको तर ५५ अर्ब रुपैयाँ अनुदान गुम्न नदिने पक्षमा आफु रहेको उनको भनाई छ । अनुदान निशर्त हुने भएका परियोजनामा भएका शर्तहरु खारेज हुनुपर्ने माग उनको भनाई छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सत्तापक्षले एमसीसी पास गर्नुपर्ने बताए । प्रावधानमा भएका कमिकमजोरीहरुका विषयमा छलफल गर्न सकिने भन्दै उनले बोल्दा अध्ययन र अनुसन्धान गरेर बोल्न पनि सुझाव दिएका छन् । उनले भने, ‘‘सबैले यसलाई स्वीकार्नुपर्छ । अहिलेको सत्तापक्षले पनि यसलाई पास गर्नुपर्छ । यो कम्प्याक्टमा भएका प्रावधानमा केही कमिकमजोरी भए यसबारेमा छलफल गर्न सकिन्छ । एमसीसीका बारेमा बोल्दा अध्ययन र अनुसन्धान गरेर बोल्नुहोला । हिजो अरुण तेस्रो परियोजना बनाउनुपर्छ भन्दा तत्कालिन नेकपा एमालेले विरोध गर्यो । त्यो त्यतिकै कोलाप्स भयो । त्यो लागु भएको भए धेरै राम्रो हुन्थ्यो ।’’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेताहरुलाई छलकपटको राजनीतिक नगर्न सुझाव दिएका छन् । हिजो महाकाली सन्धी गर्ने समयमा ठूला कुरा गरिएको भएपनि कति नाफा लिन सकियो भन्ने प्रश्न गर्दै उनले एमसीसीमा रहेका प्रावधानहरु हेर्नुपर्ने बताए ।

उनले भने, ‘‘हामीले शर्तहरु हेर्नुपर्छ । हिजो महाकाली सन्धि पारित गर्ने बेलामा पनि त्यस्तै ठूलो कुरा गरिन्थ्यो । तर, अहिले कति नाफा लिन सक्यौं त ? हामीले कोशी र महाकाली दिएकै हो । अहिले पनि अपर कर्णाली भारतीय जि.एम.आर. कम्पनीसँग छ । हाम्रो कमजोरीलाई बाहृय शक्तिले खेल्छन, यहाँको राजनीतिज्ञ र प्रशासनलाई उनीहरुले खरिद गर्छन ।’’

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले विदेशी सहयोग लिादा राष्ट्रहितका विषयमा सोच्नुपर्ने बताएका छन् । अहिले भारत र चीनबाट समेत नेपालले सहयोग लिँदै आएको बताउँदै उनले नेपालले आफ्नो राष्ट्रिय हित र स्वार्थ हेर्नुपर्ने बताए ।

‘‘कुनैपनि सहयोग, अनुदान लिँदा हामीले हाम्रो देशको हित र स्वार्थ हेर्नुपर्छ । अहिले चीनबाट सहयोग आएको छ । अमेरिकाले पनि एमसिसीमार्फत सहयोग गर्दैछ । हिन्तूस्तानले पनि सहयोग गर्दै आएको छ । तर, नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र हित हेर्नुपर्छ’’, उनले भने । ।

एमसीसीका विषयमा पक्ष विपक्षमा विचारहरु व्यक्त भइरहेका छन् । एमसीसी इण्डो प्यासिफिकको अंग भएको केही नेताहरुले दावी गरिरहेका बेला नेपालस्थित अमेरिकी दुतावासले एमसीसी र इण्डो प्यासिफिकको कुनै सम्बन्ध नभएको बताएको छ । सरकारले संसदको चालु अधिवेशनबाटै यो परियोजना पारित गर्ने बताउँदै आएको छ ।