काठमाडौं - शेयर कारोबार गर्ने तथा आइपिओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो शेयर’ एकाउन्ट नविकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन् । 

यसअघि डिम्याट एकाउन्ट नविकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले मेरो सेयरको एकाउन्ट नविकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा दिएको हो । 

योसँगै मेरो शेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यताबाट लगानीकर्तालाई मुक्ति मिलेको छ । लगानीकर्ताले रियल टाइममै आफ्नो मेरो शेयर एकाउन्टको नविकरण गर्न सकिने इसेवाका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनले बताए । इसेवामा नेपालमा रहेका सबै क्यापिटल, सेयर ब्रोकर आवद्ध छन् । 

इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, शेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।