काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली दसैं, तिहार र छठका उपलक्ष्यमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले आइतबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङलाई बिदाई गरेपछि चियापानमा पुगेका ओलीले लोकतन्त्रका लागि नेपाली कांग्रेसले गरेको योगदान महत्वपूर्ण भएको धारणा राखे ।

सत्तारुढ दल नेकपामा अध्यक्ष समेत रहेका ओलीले कांग्रेस सभापति देउवासँग मित्रताका पूरा दिनहरु सम्झिए । उनले कांग्रेसका धेरै नेताहरु लोकतन्त्रका लागि लडेको स्मरण गरे ।

उनले भने, ‘देउवा र म विगत ४५ वर्षदेखिका साथी हौं, लोकतन्त्रका लागि सँगै लडेका छौं, सँगै जेल बसेका छौँ । कमसेकम लोकतन्त्रका आधारभुत मान्यतालाई तलमाथि पर्न नदिने हाम्रो साझा एजेन्डा हो ।’

पछिल्लो समय दलहरुबीच राम्रो सम्बन्ध रहेको बताउँदै उनले चाडपर्व र यसका राम्रा र नराम्रा पक्षबारे चर्चा गरे । ‘चाडवाडले राजनीतिक दलहरुको सम्वन्ध तथा सुव्यवस्था बढाउन मद्दत पुर्‍याउँछ,’ उनले भने, ‘राम्रा कार्यमा मिलेर जुट्न यस्ता चाडवाडले सघाउ पुर्‍याउँछ ।’

चाडवाड र परम्पराका नाममा नराम्रा आदतहरु हटाउनुपर्ने र असल कार्यहरुलाई अघि बढाउनुपर्नेमा उनको जोड थियो । आफ्नो छोटो मन्तव्य टुंग्याउनुअघि उनले भने, ‘नेपाली कांग्रेसका सबै मित्रहरुलाई जय नेपाल ।’