काठमाडौं - प्याजमा कालोबजारी गर्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीले बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसीलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिकाले बुधबार बल्खु तरकारी बजार अनुगमन गर्ने क्रममा उक्त व्यापारीले ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेचेको पाइएको थियो । हाल ती व्यापारीलाई महानगरीय प्रहरी वृत कालिमाटीमा राखिएको छ ।

भारतबाट प्याज आयात बन्द भएपछि बजार भाउमा नेपाली व्यापारीको मनोमानी सुरु भएको हो । तरकारी पसलमा प्याज किलोमा १ सय ३० रुपैयाँसम्म परेको उपभोक्ताले बताएका छन् ।

हिजोसम्म किलोको ८० रुपैयाँमा बिक्री भइरहेको थियो । भारतले सोमबार प्याजको निर्यात रोकेको हो । एक महिनामै तीन गुणाले मूल्य बढेपछि भारतबाट प्याज निकासी बन्द भएको हो।