एजेन्सी - पाकिस्तामा छापिने उर्दू पत्रिकामा यसहप्ता कोरोना भाइरसबाहेक इमरान खानले संसदमा दिएको एक बयान र भारत प्रशासित कश्मीरसँग जोडिएको खबर पनि सबैभन्दा चर्चित रह्यो ।

पत्रिका दुनियाँका अनुसार प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हमला गर्दै ‘मोदी साधारण व्यक्ति नभई उनी मानसिक रोगी हुन् र भारतलाई विध्वंसतिर लगेको’ बताए । इमरान खानले पाँच अगस्ट अघि भारत प्रशासित कश्मीरको समस्यालाई संसारभरी उजागर गर्नका लागि भरपुर आन्दोलन चलाइने जानकारी दिए ।

इमरानले सो कुरा भारत–पाकिस्तान नियन्त्रण रेखामा बसेका मानिसहरुका लागि कल्याणकारी योजना ‘एहसास इमर्जेन्सी क्यास प्राग्राम’ को उद्घाटनका बेला गरेका हुन् । यो योजना अन्तर्गत नियन्त्रण रेखामा पाकिस्तानतर्फ बसेका एक लाख ३८ हजार परिवारलाई नगद सहायता दिइनेछ ।

इमरान खानले भने, ‘नरेन्द्र मोदी भारत प्रशासित कश्मीरमा नरसंहार गराउँदै छन् र अन्तर्राष्ट्रिय जगतले यसबारे थाहा पाउनुपर्छ । भारत प्रशासित कश्मीरका जनताको स्वतन्त्रताका लागि चलिरहेको संघर्षलाई शक्तिको आडमा दबाउन सकिँदैन ।’