काठमाडौं - बडादशैँको टीकाको साइत असोज २१ गते मङ्गलबार बिहान १०ः२३ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको यो साइतलाई गुठी संस्थान काठमाडौँ जिल्ला शाखाले बडादशैँ मनाउने सूचनाका लागि जानकारी गराएको छ ।

महानवमीको दिन हनुमानढोकास्थित तलेजु मन्दिर बिहान ४ बजेदेखि नै सर्वसाधारणको दर्शनका लागि खुला हुने व्यवस्था गरिएको छ ।

हनुमानढोका दरबार गद्दी बैठक छेउको कडेल्चोक भगवतीमा पनि भक्तजनले दर्शन गर्न सक्नेछन् । पशुपतिस्थित राजराजेश्वरीमा लगाइएको होमको प्रसाद पनि भक्तजनले लगाउन पाउनेछन् । यहीँ रहेको पाँचटाउके महादेव दर्शनका लागि राजराजेश्वरी पीठ खुला गरिएको छ ।

संस्थान काठमाडौँ शाखा प्रमुख शैलेन्द्र पौडेलका अनुसार संस्थानअन्तर्गतका दक्षिणकाली, कङ्केश्वरी, शोभा भगवती, मैतीदेवी, गुह्येश्वरी, नक्साल भगवती लगायत सबै शक्तिपीठमा भक्तजनको सुविधाका लागि स्थानीय व्यवस्थापन समितिलाई क्रियाशील गरिएको छ ।