एजेन्सी - इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ ।

दुबईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले सुखद सुरुवात गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो ।

हैदराबादका लागि जोनी बेयरस्टोले ६१ रन र मनिस पाण्डेले ३४ रन बनाएपछि टोलीलाई जित दिलाउन सकेनन् । कप्तान डेभिड वार्नर ६ रनमा आउट भए ।

बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए । शिवम डुबे र नाभदिप सैनीले २/२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । बैंगलोरका लागि डेभदत्त पडीक्कल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले ।

डेब्यु खेलाडी पडीक्कलले बैंगलोरका लागि ५६ रनको उत्कृष्ट इनिङ्स खेले । पहिलो विकेटका लागि २० वर्षीय पडीक्कलले आरोन फिन्चसँग ९० रनको साझेदारी गरे । फिन्च २९ रनमा आउट भए ।

यस्तै डी भिलियर्सले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विराट कोहली १४ रनमा आउट भए । हैदराबादका विजय शंकर, थानगारासु नटराजन र अविशेक शर्माले १/१ विकेट लिए ।