एजेन्सी - अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको अनुसन्धान गरिरहेको एउटा टोलीले उनलाई पद दुरुपयोगमा महाभियोग लगाउने प्रशस्त प्रमाण भेटिएको जनाएको छ।

ट्रम्प–युक्रेन महाभियोग अनुसन्धान नामक प्रतिवेदन संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने एउटा समितिले सार्वजनिक गरेको छ। त्यही प्रतिवेदनले पनि यो कुरा बोलेको छ । समितिले राष्ट्रपतिले व्यक्तिगत लाभका लागि पदको दुरुपयोग गरेको आरोप लगाउँदै महाभियोगसम्बन्धी उक्त प्रतिवेदन सार्वजनिक गरेको बताइँदै छ ।

प्रतिवेदनमा ट्रम्पको टाउकोमा न्यायमा अवरोध पुर्‍याएको तथा आगामी चुनावमा आफ्नो हितका लागि यूक्रेनलाई मुछ्न खोजेको आरोप झुण्डिएको छ । राष्ट्रपतिले साक्षीहरूलाई तर्साउन खोजेको तथा कर्मचारीलाई समितिले गरेको बोलावट अटेर गर्न दबाव दिएको पनि आरोप लागेको छ ।

क्रुद्ध ह्वाइट हाउस

समिति अध्यक्ष एडम शिफले ट्रम्पले आफूलाई कानूनभन्दा माथि ठानेको र शक्ति दुरुपयोग गरेको प्रशस्त प्रमाण रहेको बताए । वाशिङ्टनमा रहेका बीबीसी संवाददाता क्रिस बक्लरको हवाला अनुसार, ‘ती कुनैपनि आरोप राष्ट्रपति ट्रम्प वा उनको दलका नेताहरूका निम्ति नौलो भने हुनेछैन। तर यो सबै प्रयत्नलाई राजनीतिक रूपले प्रेरित अभियान भन्दै आएका ट्रम्प थप आक्रोशित भने हुनेछन्।’ ह्वाइट हाउसले यो प्रतिवेदनको विरोधमा तीखो प्रतिक्रिया दिँदै त्यसलाई एकपक्षीय र नक्कली प्रक्रिया भनेको छ।

यस्ता छन् आरोप

राष्ट्रपति ट्रम्पले व्यक्तिगत राजनीतिक स्वार्थलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्वार्थभन्दा माथि राखेको प्रतिवेदनमा उल्लेख छ। यस्तै, राष्ट्रपतिले सन् २०२० मा हुने आगामी राष्ट्रपतीय निर्वाचनमा आफ्नो स्थिति बलियो बनाउने उद्देश्यले महिनौँसम्म युक्रेनबाट वैदेशिक हस्तक्षेप खोजिरहेको कुरा पनि प्रतिवेदनमा लेखिएको छ।

यो प्रतिवेदन ट्रम्पलाई पदबाट हटाउनका निम्ति आधार तयार पार्ने हिसाबले आएको छ । दुई महिना भन्दा बढी समयदेखि सङ्कलन गरिएको १७ जना साक्षीहरूको बयानमा यो प्रतिवेदन आधारित छ।

ट्रम्पले आफूले कुनै गल्ती नगरेको र आफूविरुद्ध योजनाबद्ध तरिकाले निरन्तर विपक्षी खनिइरहेको बताउँदै आएका छन्। उनले महाभियोग सुनुवाइमा उपस्थित नहुने समेत बताएका छन् ।