काठमाडौं - यस वर्ष वर्षे विदा नहुने भएको छ । खासगरि शिक्षण संस्थाहरुले हरेक वर्षको असार साउनमा वर्षे विदा दिंदै आएका छन् । तर, यसपटक कोरोना भाइरसको आतंकको कारण अहिले देशभरि नै पठन पाठन मात्र होइन, परिक्षाहरु समेत पूर्णरुपमा बन्द रहेकोले त्यसको भरपाई वर्षे विदाबाट गर्ने तयारी भैरहेको जानकारी शिक्षा मन्त्रालयका एक अधिकारीले जनतापाटीलाई दिए । त्यतिले पनि नपुगे विगतमा दिइदै आएका चाडपर्व र अरु विदाहरु समेत कटौती गरिने भएको छ ।

उनका अनुसार त्यसबारेमा उच्च माध्यमिक विद्यालय एशोसियन (हिसान), प्याब्सन तथा एन प्याब्सनका अधिकारीहरुसंग प्रारम्भिक चरणको छलफल भएको छ र शिक्षा मन्त्रालयको प्रस्तावमा ती संघ संस्थाहरु पनि सकारात्मक छन् । अहिलेको लक डाउन कति समय चल्छ र स्कुल तथा कलेजहरु कहिले

देखि संचालन हुन्छन् भन्ने यकिन नभए पनि विभिन्न विदाहरु कटौती गरेर भए पनि सेसन व्यवस्थापन गरिने भएको छ । ‘अहिले सिंगो पढाइ नै पछाडि धकेलिन्छ कि भनेर केही केहीले आशंका गर्ने गरेको पाइन्छ । त्यस्तो होइन, दुई ढाई महिना नै पढाइ अवरोध भए पनि सेसन तलमाथि हुदैंन’ उनले भने ।

त्रिभुवन विश्वविद्यालयले गत बिहीबार नै जरुरी सूचना सार्वजनिक गर्दै हिउँदे, वर्षे विदा पाउने शिक्षक, कर्मचारी, विद्यार्थीलाई आगामी बर्षे विदाबाट मिलान गर्ने गरी विदा दिने निर्णय गरेको बताइसकेको छ ।

काठमाण्डौ विश्वविद्यालय, कृषि तथा बन विश्व विद्यालय लगायतका अरु विश्वविद्यालयहरुले पनि अहिलेको विदालाई वर्षे विदामा मिलान गर्ने गरी कार्यतालिका बनाउने तयारी गरेका छन् ।