काठमाडौं - भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाएका हुन् ।

सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्रीहरू, राजनीतिक दलका नेता, सीमाविद्, परराष्ट्र मामिलाका जानकारलगायत सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा, झलनाथ खनाल, बाबुराम भट्टराई लगायत बैठकमा सहभागी छन् ।

बैठकमा भारतीय नक्सामा अतिक्रमण भएको नेपाली भूमि र सीमा विवाद समाधानका लागि कूटनीतिक प्रयासका उपायबारे छलफल हुने जनाइएको छ ।

भारतले कालापानीलाई आफ्नो नक्सामा समेटेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ । विभिन्न राजनीतिक दल, तिनका संगठन र सरकारले नै भारतीय कदमको विरोध गरेका छन् । भारतले भने नयाँ नक्सामा कुनै फेरबदल नगरिएको दाबी गर्दै आएको छ ।