काठमाडौं - एक वर्षको अवधिमा विदेशी भूमिमा करिब ९०० नेपालीको मृत्यु भएको छ। विदेशमा मृत्यु भएकामध्ये अधिकांश वैदेशिक रोजगारमा जानेहरू रहेका छन्।

“गत आर्थिक वर्ष २०७६/७७ मा विदेशी भूमिमा करिब ९०० नेपालीको मृत्यु भएको हाम्रो अनुमान छ। कोरोना महामारीले गर्दा अघिल्ला वर्षहरूमा भन्दा गत वर्ष विदेशमा मृत्यु हुने नेपालीको संख्या बढ्ने देखिन्छ,” वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले देखापढीसँग भने। 

बोर्डले अहिले गत आर्थिक वर्ष विदेशमा मृत्यु हुने नेपालीको विवरण जुटाउने काम गरिरहेको छ। सोही अनुसार विदेशबाट शव ल्याउने र सम्बन्धित परिवारलाई बुझाउने काम बोर्डको क्षेत्राधिकारभित्र पर्छ। 

“कोरोना महमारीले गर्दा मृत्यु भएको संख्या पत्ता लगाउन र शव ल्याउन कठिन भइरहेको छ,” कार्यकारी निर्देशक श्रेष्ठले भने। 

आर्थिक वर्ष २०७५/७६ मा विदेशमा ७५३ जना नेपालीको मृत्यु भएको थियो। मृतकका परिवारलाई उक्त वर्ष बोर्डले ४८ करोड ४९ लाख ४० हजार रूपैयाँ आर्थिक सहयता उपलब्ध गरेको थियो। 

बोर्डका अनुसार आर्थिक वर्ष २०७६/७७ मा विदेशमा मृत्यु भएकामध्ये ४९४ जनाको सूची बोर्डले तयार गरिसकेको छ। यीमध्ये १५ जना महिला र ४७९ जना पुरुष छन्। 

“कोरोनाका कारण मृत्यु भएकाहरुको अन्त्येष्‍टि सम्बन्धित परिवारको सहमतिमा विदेशमै गरिएको छ। अन्य कारणले मृत्यु भएकाहरूको शव नेपाल झिकाएर परिवारलाई बुझाइएको छ,” कार्यकारी निर्देशक श्रेष्ठले भने। 

श्रेष्ठका अनुसार हालसम्म १७२ जनाको अन्त्येष्‍टि विदेशमै गर्नको लागि सम्बन्धित परिवारसँग सहमति लिइसकिएको छ। २४६ शव नेपाल ल्याएर सम्बन्धित परिवारलाई बुझाइएको उनले जनाए। 

आर्थिक वर्ष २०७६/७७ मा मलेसियामा ९२, साउदी अरबमा १७३, कतारमा ७७, युएईमा ८३, कुवेतमा २५, बहराइनमा ११, ओमानमा २, दक्षिण कोरियामा ८ र अन्य देशमा २३ जना नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको श्रेष्ठले बताए। 

“कोरोनाका कारण विदेशमा धेरै नेपालीले रोजगारी गुमाएका छन्। यसकारण तनावले गर्दा पनि विदेशमा आत्महत्या गर्ने नेपालीको संख्या बढेको देखिन्छ। झन् गत आर्थिक वर्ष त कोरोनै कारण पनि धेरै नेपालीको मृत्यु विदेशमा भएको छ,” उनले भने।

गैर आवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोना कारण हालसम्म विदेशमा १९१ जनाको मृत्यु भइसकेको छ।