काठमाडौं - बेलायतमा यही डिसेम्बर १२ मा आम निर्वाचन हुने भएको छ । संसद्को तल्लो सदन हाउस अफ् कमन्सले समय अगावै आम निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेसँगै आम निर्वाचन हुने पक्का भएको बीबीसी जनाएको छ ।

बेलायतमा सन् १९२३ पछि पहिलो पटक डिसेम्बर महिनामा निर्वाचन हुन लागेको हो । निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ मत खसेको थियो भने विपक्षमा जम्मा २० जना सांसदहरुले मतदान गरेका थिए ।

अब माथिल्लो सदन हाउस अफ् लर्ड्सले उक्त विधेयक पारित गरे कानून बन्नेछ । माथिल्लो सदनले विधेयक पारित गरेसँगै निर्वाचन प्रचारका लागि पाँच हप्ताको समय बाँकी रहने बताइएको छ ।

प्रधानमन्त्री जोनसनले युरोपियन युनियनबाट बाहिरिने ब्रेक्जिटबारे निर्णय लिने अवसर बेलायती नागरिकलाई दिनुपर्ने बताउनुभएको छ ।

निर्वाचनसँगै ब्रेक्जिट सम्झौताका लागि आफूलाई नयाँ जनादेश दिने र संसद्मा जारी गतिरोध अन्त्य गर्ने प्रधानमन्त्री जोनसनले विश्वास व्यक्त गरेका छन् । पछिल्लो चाँच वर्षमा बेलायतमा यो पाँचौ पटक निर्वाचन हुन लागेको हो ।