काठमाडौँ - शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा भएको घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको विषयलाई लिएर आयोजना गरिएको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ ।

भ्रष्टाचार विरोधी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए ।

मन्त्री भट्टराईसँग जोडिएको सोही विषयलाई लिएर शाहीले आइतबार दिउँसो १ बजे पत्रकार सम्मेलनमा आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा पुगेको एक समूह र शाहीका सहयोगीबीच हात हालाहाल भएको थियो ।

पत्रकार सम्मेलनमा सो समूहले शाहीसँग प्रश्नमाथि प्रश्न गरेपछि शाहीका सहयोगीले रोक्न खोज्ने क्रममा हात हालाहाल भएको हो । प्रहरीले शाहीको पत्रकार सम्मेलनमा हुलहुज्जत भएपछि सुरक्षाका लागि उनलाई नियन्त्रणमा लिएर प्रहरी परिसर ललितपुर लगिएको छ ।