काठमाडौं - नेपाली स्टार लेगस्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेट जमैका तलावाजबाट खेल्ने भएका छन् ।

सोमबार भएको ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले अनुबन्ध गरेको हो । सन्दीपले ड्राफ्टमा आफ्नो मूल्य ९० हजार अमेरिकी डलर राखेका थिए । सोहि अनुसार तलावाजले अनुबन्ध गरेसँगै सन्दीपले अब नेपाली रुपैयाँ करिब १ करोड ८ लाख पाउनेछन् ।

सन्दीप लगातार तेस्रो पटक सीपीएलका लागि छनोट भएका हुन् । सन्दीपले यस अघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।

नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप ड्राफ्टमा सहभागी ५ सय ३७ खेलाडी मध्ये एक्लो नेपाली हुन् ।

आगामी अगष्ट सेप्टेम्बरबाट सुरु हुने सीपीएलमा सन्दीपको टिममा वेष्ट इन्डिजका चर्चित खेलाडीहरु छन्, जसमा रसेलसंगै कार्लोस् ब्रेथवेइट, चाडविक वाल्टन, ओसाने थोमस, पाकिस्तानका आसिफ अली, फिडेल एडवार्ड्स लगायत छन् ।

सीपीएलमा जमैकासंगै बार्बाडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाहज, सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।