काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु संविधान संशोधनको प्रस्ताव दर्ता गर्न संसद सचिवालय पुगेका छन् ।

तराईबाट प्रतिनिधित्व गर्ने कांगेसका सांसदहरु चित्रलेखा यादव, प्रदीप गिरि, अमरेशकुमार सिंह, तेजुलाल चौधरी लगायतले गैरसरकारी विधेयकका रूपमा प्रस्ताव दर्ता गर्न मंगलबार दिउँसो संघीय संसद सचिवालय पुगेका हुन्।

पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार संविधान संशोधन प्रस्ताव पुनस् दर्ता गर्न लागेको सहभागि एक नेताले बताए ।

शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले अझै पनि तराई-मधेशका जनताका माग पूरा नभएकोले संविधान संशोधन प्रस्ताव दर्ता गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो।

यसअघि ०७४ भदौ ५ मा फेल भएको संविधान संशोधन प्रस्ताव पुन: ब्युँताएर दर्ता गर्न लागिएको हो। त्यसबेला कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा तत्कालीन माओवादी केन्द्रसँग संयुक्त सरकार थियो।