काठमाडौं - भारत र दक्षिण अफ्रिकाबीच पुणेमा भइरहेको टेस्ट म्याचको चौथो दिन आइतवार भारतले एक इनिङ र १३७ रनको विजय हासिल गरेको छ । 

यससँगै भारतले तीन टेस्ट म्याचको शृंखला समेत जितेको छ । घरेलु भूमिमा सर्वाधिक ११ शृंखला लगातार जित्ने कीर्तिमान समेत भारतले बनाएको छ । यसअघि अस्ट्रेलियाले दुईपटक १० वटा घरेलु शृंखला लगातार जितेको थियो ।

भारतको यस जीतमा कप्तान विराट कोहली नायक रहे । उनले नटआउट २५४ रन बनाउँदै अनेकौं कीर्तिमान भंग गरे । मयंक अग्रवालले १०८ र रवीन्द्र जडेजाले ९१ रन बनाएका थिए ।

सबै भारतीय बलरले दक्षिण अफ्रिकाको ब्याटिङ तहसनहस पार्न योगदान गरे । रविचन्द्रन आश्विनले पहिलो इनिङमा चार र दोस्रो इनिङमा दुई विकेट लिए । 

भारतले पहिलो इनिङमा पाँच विकेट गुमाएर ६०१ रनको विशाल स्कोर बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले पहिलो इनिङमा २७५ रन मात्र बनायो । त्यो पनि अन्तिमतिर केशव महाराज र भर्नोन फिलान्डरले १०९ रनको साझेदारी गरेपछि सम्भव भएको स्कोर हो ।

३२६ रनको अग्रता लिएको भारतले दक्षिण अफ्रिकालाई फलोअन गर्न लगायो । दोस्रो इनिङमा दक्षिण अफ्रिकाले झनै दयनीय प्रदर्शन गर्दै जम्मा १८९ रन बनाउन सक्यो । डीन एल्गरको ४८ रन सर्वाधिक स्कोर रह्यो ।