काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा संगठितरुपले भ्रष्टाचार भइरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले ठूला नेता, कर्मचारी र व्यापारीहरु भ्रष्टाचारमा योजनाबद्ध ढंगले लागिरहेको आरोप लगाए ।

उनले एनसेलको करछली प्रकरणमा अर्बौंको घोटाला भएको दाबी गर्दै प्रशासनिक, राजनीतिक र व्यावसायिक क्षेत्रलाई समेटेर संगठित तवरले नै भ्रष्टाचार गर्न ठूला व्यक्तिहरु सफल भएको दाबीसमेत गरे ।

हिन्दुराष्ट्र र राजसंस्थाप्रति अहिले पनि राप्रपा प्रतिबद्ध रहेको उनको भनाइ छ । अध्यक्ष थापाले चाडपर्वलगत्तै भ्रष्टाचारविरुद्ध वृहत् अभियान सन्चालन गर्ने बताए ।