काठमाडौं - पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एउटा पुरानो भिडिओ अन्तर्वार्ताले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

पूर्वक्रिकेटर समेत रहेका इमरानले अन्तर्वार्तामा बलिउडका लिजेन्ड देव आनन्दसँग जोडिएको किस्सा शेयर गरेका थिए । भारतीय मिडियाका अनुसार देव आनन्दले आफूलाई बलिउडमा अफर गरेको इमरानले अन्तर्वार्तामा उल्लेख गरेका छन् ।

स्मरणीय के छ भने, बलिउडका अभिनेता तथा फिल्मले पाकिस्तानमा पनि चर्चा पाउँछन् । देव आनन्दले इंग्ल्याण्डमा इमरानलाई फिल्मको अफर गरेको कुरा बताइएको छ । २००६ मा भारतीय च्यानल एनडिटिभीसँग दिएको अन्तर्वार्तामा उनले यसबारे बोलेका थिए ।

यसबाहेक उनले एकपटक फिल्म निर्माता तथा निर्देशक इस्माइल मर्चेन्टले पनि फिल्ममा काम गर्नेबारे सोधेको बताएका थिए । तर इमरानले फिल्मी व्यक्ति नभएको जवाफ दिएका थिए । स्कुल नाटकमा समेत नखेलेको भन्दै फिल्मको प्रस्ताव अस्वीकार गरेका थिए । पूर्व पाकिस्तानी क्रिकेटर तथा कोच मोहसिन खानले भने केही बलिउड फिल्ममा काम गरिसकेका छन् ।