काठमाडौं- काभ्रे स्थायी घर भएका अशोक लामा काभ्रेली डन दावा लामाको संगतबाट गुण्डागर्दीमा लागेका हुन् । पहिले काठमाडौंको त्रिपुरेश्वरमा बस्ने गरेका अशोकले दावाकै सहयोगीका रूपमा ललितपुरलाई आधार बनाएर  गुण्डागर्दी शुरु गरेका हुन् । 

शुरुवातमा उनी काठमाडौंका ठमेल, दरबारमार्ग र ललितपुरको लगनखेल क्षेत्रमा सञ्चालित डान्सबारबाट हप्ता असुली गर्ने गर्दथे । पछि उनले विभिन्न व्यापारीलाई चर्को ब्याजमा पैसा दिने ९मिटर ब्याज०को धन्दा शुरु गरेको प्रहरी स्रोत बताउँछ । उनी निर्माण क्षेत्रका साना–ठूला ठेक्कापट्टामा समेत संलग्न थिए । 

यसअघि उनीमाथि ज्यानमार्ने उद्योगमा मुद्दा चलेको थियो । उनीमाथि विभिन्न समयमा सार्वजनिक मुद्दा समेत चलेका थिए । पछिल्लो समय उनी विभिन्न व्यवसायीलाई हतियार देखाएर हप्ता असुली गर्ने गर्दथे । विभिन्न व्यवसायीहरूले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई खोजी सूचीमा राखेको थियो । 

महानगरीय प्रहरी अपराध महाशाखाले लामाको खोजीका लागि विशेष टोली नै परिचालन गरेको थियो । सोमवार दिउँसो युएन पार्कमा भेटिएका लामालाई प्रहरीले पक्राउ गर्न खोजेको थियो । उनले प्रहरीमाथि नै गोली प्रहार गर्न खोजेपछि जवाफी फायरिङ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले बताए । 


लामाको साथबाट एक थान पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । लामाको दाहिने खुट्टाको पिंडौलामा गोली लागेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

लोकान्तरबाट