काठमाडौं - भोली(आइतबार)देखि सरकारले लकडाउन खुकुलो बनाउने भएको छ ।

कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने विषयमा मस्यौदा तयार पारेको छ ।मस्यौदा अनुसार हालसम्म एकसय भन्दा कम संक्रमण देखिएका जिल्लाभित्र यातायात सुचारू गर्ने तयारी भएको छ ।जसमा सिट संख्याको आधामात्रै बोक्न पाइने नियम बनाइएको छ । तर, असार १ पछि भने लामो दूरीको यातायात पनि खुलाउने तयारी गरिएको छ ।

लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा यसअघि प्रधामन्त्री विज्ञहरूसँग परामर्श गरेका थिए ।गत चैत ११ गतेबाट जारी लकडाउनको पछिल्लो पटकको म्याद जेठ ३२ सम्म छ ।

यता, वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड तयार गरिएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि नयाँ मापदण्डमा निवार्य गरिएको छ ।

मापदण्डमा हवाई सेवा प्रयोग गर्दा यात्रुले अवलम्बन गर्नुपर्ने नियम तथा वायु सेवा सञ्चालक, विमानस्थल सञ्चालक र भूमिस्थ सेवा संलग्न कर्मचारीले पालन गर्नुपर्ने नियम तथा सुरक्षाका उपाय समेटिएको छ ।मापदण्डअनुसार खोकी, ज्वरो, सास फेर्न समस्या भएको तथा स्वाद र गन्ध थाहा नपाउने अवस्थाका व्यक्तिलाई उडानमा पूर्ण रूपमा निषेध गरेको छ । यात्रुले वायु सेवा सञ्चालकले उपलब्ध गराउने फाराम भरेर आफू पूर्ण रूपमा स्वस्थ भएको स्वघोषणा गर्नुपर्ने छ ।

यात्राको क्रममा अनिवार्य मेडिकल मास्क लगाउनुपर्ने र यात्राभर आफूलाई आवश्यक मास्क आफैँ व्यवस्था गर्नुपर्नेसमेत उल्लेख गरिएको छ । त्यस्तै यात्रुले उडान जाँचदेखि लगेज लिने प्रक्रियासम्म कम्तीमा एक मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने मापदण्डमा जनाइएको छ ।